इम्प्रेशन नेपाल केन्द्रीय समितिको छैटौँ बैठक सम्पन्न, १०औँ राष्ट्रिय अधिवेशन मंसिर १२ गते गर्ने निर्णय
काठमाडौं, २०८३ श्रावण ३१: इम्प्रेशन नेपाल–आईसीटी, मिडिया तथा प्रेस प्रोफेशनल यूनियन केन्द्रीय कमिटीको छैटौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
जिफन्ट (GEFONT) का अध्यक्ष कमरेड विनोद श्रेष्ठ प्रमुख अतिथि र महासाचिब लक्ष्मण शर्मा बिशेष अतिथि को रूपमा उपस्थित हुनुहुंथ्यो । उहाँहरूले संस्थाको आगामी दिशा, संगठन सुदृढीकरण तथा बदलिँदो प्रविधि र व्यावसायिक वातावरणअनुसार संगठनलाई थप प्रभावकारी बनाउने विषयमा मार्गनिर्देश गर्नुभएको थियो।
बैठकमा संस्थाका हालसम्मका गतिविधि, सांगठनिक अवस्था, आगामी कार्ययोजना, संगठनको सुदृढीकरण तथा आगामी १०औँ राष्ट्रिय अधिवेशनको तयारीका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकको महत्वपूर्ण निर्णयका रूपमा १०औँ राष्ट्रिय अधिवेशन आगामी मंसिर १२ मा आयोजना गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित मितिलाई आधार बनाएर अधिवेशनको कार्यतालिका, एजेन्डा, सांगठनिक प्रतिवेदन, विभिन्न प्रस्ताव तथा आवश्यक व्यवस्थापकीय तयारीलाई अगाडि बढाइनेछ।
इम्प्रेशन नेपालले आफूलाई सधैँ नवप्रवर्तन, प्रविधि र सामूहिक एकतामा विश्वास गर्ने संगठनका रूपमा अघि बढाउँदै आएको छ। सूचना तथा सञ्चार प्रविधि, मिडिया र प्रेस क्षेत्रमा देखापरेका नयाँ चुनौती र अवसरलाई सम्बोधन गर्न डिजिटल रूपान्तरण, नवप्रवर्तन र सुदृढ सामूहिक नेतृत्व आवश्यक रहेको बैठकले जोड दिएको छ।
“Tech-Driven Unity for a Stronger Future” — “प्रविधिमैत्री एकता, सुदृढ भविष्यका लागि” भन्ने मूल भावनाका साथ इम्प्रेशन नेपालले आगामी दिनमा श्रमजीवी तथा पेशाकर्मीबीचको एकतालाई थप मजबुत बनाउँदै प्रविधि र नवप्रवर्तनलाई संगठनको कार्यशैलीसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकले संगठनलाई थप गतिशील, समावेशी, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै १०औँ राष्ट्रिय अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने दृढ प्रतिबद्धताका साथ आगामी कार्यहरू अघि बढाउने निर्णय गरेको छ।
Member




